Loading...

२०७२ मा प्रबिधि क्षेत्रका १४ उपलब्धि

२०७२ हामीबाट बिदा भैसकेको छ । ०७२ सालमा बिकासको प्राथमिक आधार मानिने सूचना प्रबिधि क्षेत्रमा केही उल्लेख्य प्रगतिहरु भएका छन् । हेर्नुस् यो बर्ष भएका १४ उपलब्धिहरु ।

मोबाइल ट्रयाकिङ सिस्टम 

यो वर्ष नेपाली बजारमा मोबाइल र अन्य प्रकारका स्मार्ट डिभाइसहरू लोकप्रिय भए । नेपालमा विभिन्न ब्रान्डका स्मार्टफोन भित्रिरहेका छन्, तर सबै स्मार्टफोन वैध रूपमा भित्रिएको पाइँदैन । सरकारले मोबाइलको बैध व्यापारलाई प्रोत्साहित गर्न तथा त्यसबाट हुने राजस्वलाई थप प्रभावकारी बनाउन मोबाइल ट्रयाकिङ प्रणाली कार्यान्वयनमा ल्याउन लागेको छ । यसका लागि अन्तर्राष्ट्रिय मोबाइल उपकरण पहिचान एवं दर्ता प्रणाली लागू गर्नु आवश्यक छ । सरकारले वर्ष २०७३ को प्रारम्भमै यो योजना कार्यान्वयनमा ल्याउने योजना बनाएको छ ।

न्यूज एप्स

यो वर्ष अनलाइन समाचारका लागि एप्स निर्माण गर्ने क्रम पनि निकै बढेर गयो । कान्तिपुर पब्लिकेसन्स आफ्नो केएमजी एप्समार्फत समाचारको क्षेत्रमा फरक तरिकाले प्रस्तुत भयो । त्यसैगरी हाम्रो न्यूज एन्ड म्यागजिन, अनलाइन खबर आदि विभिन्न प्रकारका न्यूज एप्सहरू विकास भए । पहिले पत्रिका पढ्ने, रेडियो सुन्ने, अनि अनलाइनमा समाचार हेर्ने नेपाली अबको केही वर्षभित्रै एप्समा समाचार हेर्न बानी पर्नेछन् र त्यसको सुरुवातका रूपमा यो वर्ष केही उल्लेखनीय कार्य भएका छन् ।

नेपालीमा युट्युब र फायरफक्स 

लोकप्रिय भिडियो स्ट्रिमिङ साइट युट्युब यही वर्षदेखि नेपाली भाषामा पनि उपलब्ध हुन थालेको छ । यसबाट अंग्रेजी भाषामा धेरै जानकार नभएकाहरूले नेपाली भाषामै युट्यु चलाउन सक्छन् । यद्यपि युट्युबमा भएका भिडियो भने जुन भाषामा छन्, त्यसैमा उपलब्ध हुन्छन् । त्यसैगरी वेब ब्राउजर फायरफक्स पनि नेपाली भाषामा चलाउन सकिने भएको छ ।

ह्याकाथन एवं स्टार्टअप उत्साह

सानो लगानी, नवीन सोच र ठूलो सपना लिएर सूचना प्रविधिका क्षेत्रमा केही गर्न चाहनेहरूका लागि यो वर्ष त्यसैअनुरूपको प्लेटफर्म उपलब्ध गराउने कार्य धेरै कम्पनीले गरे । यसका लागि स्टार्टअप विकेन्ड, एचआरएप्याथन, एप्याथन आदि आयोजित गरिए । स्टार्टअप कम्पनीहरू नेटलाइफ्ट, स्मार्ट कृषि, आइसिटी फर एग्रिकल्चर, एल्लो नेपाल, लोकसेवा नेपाल, र्‍यापिड सोलुसन्स टिम आदिले आफूलाई अन्तर्राष्ट्रिय क्षेत्रसम्म पुर्‍याउन सफलता प्राप्त गरे ।

अनलाइन पेमेन्ट कम्पनीहरुको विकास 

अनलाइन पेमेन्टका लागि यो वर्ष नेपालमा जोकिमो डटकमले कार्य प्रारम्भ गरेको छ । कम्प्युटरमा आफूले गरेका विभिन्न प्रकारका क्रिएसनलाई यसको सहयोगले संसारका सबै स्थानमा बिक्री गर्न सकिन्छ । क्रिएट, प्रमोट र प्रोफिट स्लोगनसहित प्रारम्भ भएको जोकिमोलाई आफ्नो क्रिएसन बिक्री गर्ने पसलका रूपमा प्रयोग गर्न सकिन्छ । यसमा आफ्ना क्रिएसनलाई अपलोड गर्न सकिन्छ र बिक्री भएको पैसा पारदर्शी रूपमा आफ्नो खातामा आउँछ ।

मोबाइल एप्सको क्रेज  digital

नेपालीहरू दैनिक जीवनलाई सहज बनाउने खालका मोबाइल एप्स निर्माणमा निकै चासो दिन थालेका छन् । यो वर्ष यस्ता धेरै एप्सले चर्चा पाए । नेटटिभी नेपाल, अर्थक्वेक नेपाल, डिजिटल नेपाल, हाम्रो पुलिस, हाम्रो डाक्टर, स्प्यारो एसएमएस आदि त्यसका केही उदाहरण हुन् । अहिले देशका प्रत्येक क्षेत्र र चर्चित संस्थाका आफ्नै मोबाइल एप्स निर्माण हुन थालेका छन् । अब समाचार पढ्न मात्र नभै बिजुली र खानेपानीको बिल तिर्न, बसदेखि जहाजसम्मको टिकट किन्न, गीत, सिनेमा र लाइभ टिभी हेर्न समेत एप्सकै प्रयोग हुन थालेको छ । त्यसबाहेक नि:शुल्क फोन गर्न र एसएमएस पठाउन तथा लोकसेवा वा विश्वविद्यालयको परीक्षाको तयारी गर्न पनि एप्सनै प्रयोग हुन्छ ।

डिजिटल सिग्नेचर प्रारम्भ digital signature

नेपालमा यही वर्ष अर्थात् गत मंसिर १६ गतेदेखि डिजिटल सिग्नेचरको थालनी भएको छ । डिजिटल सिग्नेचरको सर्टिफाइड कम्पनीका रूपमा सरकारले रेडियन्ट इन्फोटेकलाई जिम्मेवारी प्रदान गरेको छ । रेडियन्टले देशभरका लोकल रजिस्ट्रेसन अथोरिटी वा सब सर्टिफाइड अथोरिटी बनाउने र त्यसमार्फत डिजिटल सिग्नेचर लिन इच्छुकलाई प्रमाणपत्र प्रदान गर्नेछ । पहिलो चरणमा सरकारी एवं व्यवसायिक संगठन लक्षित प्रमाणपत्र वितरण गर्ने योजना छ ।

आइसिटी पोलिसी–२०७२

सरकारले पहिलेको सूचना प्रविधि नीति–२०६७ लाई विस्थापन गर्दै सूचना तथा सञ्चार प्रविधि नीति–०७२ सार्वजनिक गरेको छ । यो नीति कार्यान्वयन गर्न सूचना तथा सञ्चारमन्त्रीको अध्यक्षतामा निर्देशक समिति बनाइएको छ । नीतिमा सूचना तथा सञ्चार प्रविधिसँग सम्बद्ध विभिन्न व्यवस्था गरिएको छ ।

स्मार्ट ड्राइभिङ लाइसेन्स smart

सरकारले हस्तलिखित चालक अनुमति पत्र (लाइसेन्स) को सट्टा स्मार्ट ड्राइभिङ लाइसेन्स यही वर्षदेखि वितरण गर्न थालेको छ । पहिलो चरणमा काठमाडौं, लाहान तथा लुम्बिनी क्षेत्रमा र त्यसपछि क्रमिक रूपमा अन्य क्षेत्रमा स्मार्ट ड्राइभिङ लाइसेन्स प्रयोगमा ल्याउने यातायात व्यवस्था विभागको योजना छ ।

कार्यान्वयनमा ब्रोडब्यान्ड पोलिसी

ब्रोडब्यान्ड नीति अघिल्लो वर्ष नै तयार भए पनि यो वर्ष मात्र यसको कार्यान्वयन प्रारम्भ गरिएको छ । यो नीतिले ५ सय १२ केबीपीएस डाउनलोड गति भएको तथा विशेषत: सहरी क्षेत्रमा माग भए १० एमबीपीएससम्मको ब्रोडब्यान्ड सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ । त्यसैगरी नेपालका ४५ प्रतिशत घरधुरीमा ब्रोडब्यान्डको पहुँच पुर्‍याउने, सबै जिल्ला सदरमुकाममा अप्टिकल फाइबर विस्तार गर्ने जस्ता अनेकन लक्ष्य निर्धारण गरिएको छ ।

अनलाइनमा लोकसेवा 

लोकसेवा आयोगले यही वर्षदेखि अनलाइनबाटै दरखास्त फाराम भर्न र पाठ्यक्रमको सुविधा प्राप्त गर्न सकिने व्यवस्था गर्‍यो । प्रवेशपत्र समेत विद्यार्थीले अनलाइनमै प्रिन्ट गर्न सक्ने व्यवस्था छ । धेरै विषयका लागि यो व्यवस्था गरिएको र आगामी दिनमा अन्य विषयमा समेत यो व्यवस्था अपनाउने योजना लोकसेवाको छ ।

डिम्याट खाता र सेयरमा डिजिटलाइज

कुनै पनि कम्पनीको सेयर किनबेच गर्न अनिवार्य रूपमा डिम्याट खाता हुनुपर्ने व्यवस्था लागू भएको छ । नेपाल स्टक एक्सचेन्जले केन्द्रीय निक्षेप प्रणाली (सीडीएस) कार्यान्वयनमा ल्याउने तयारीको पहिलो चरणका रूपमा यो व्यवस्था गरेको हो । लामो समयदेखि कार्यान्वयनमा आउन नसकेको यो व्यवस्था लागू भएपछि यो क्षेत्रमा केही नयाँपनको अनुभव लगानीकर्ताहरूले पनि गरेका छन् ।

मालपोतमा अनलाइन

यो वर्ष जग्गा नामसारी, दर्ता, दर्ता पासलगायतका कार्य अनलाइन रूपमै गर्ने प्रक्रियाको थालनी भएको छ । मालपोत कार्यालय भक्तपुरबाट सुरु गरिएको यो कार्य यो आर्थिक वर्षमा ४० वटा मालपोत कार्यालयमा विस्तार गर्ने गराउने सरकारको योजना छ । यसबाट कामको चाप अधिक हुने मालपोत कार्यालयमा कार्यसम्पादन सहज हुने, कार्यालय सञ्चालन खर्चमा कमी आउने तथा बिचौलियाहरूको भूमिका समाप्त हुने भूमिसुधार तथा व्यवस्था मन्त्रालयको विश्वास छ ।

सगुन डटकमको बिस्तार  sagoon

सामाजिक सञ्जाल सगुन डटकमको दोस्रो संस्करण नेपालबाट सार्वजनिक गरियो । प्रधानमन्त्री स्तरको ध्यानाकर्षण गराउन सफल सगुन डटकमले मिनी आइपिओमा जानसमेत स्वीकृति प्राप्त गरिसकेको छ । यो सञ्जाल नेपाल, भारत, दक्षिण एसिया, अमेरिका, युरोप हुँदै विश्वव्यापी विस्तार हुदैछ ।

यो पढ्नु भयो ?

खेलकुदका जान्नै पर्ने २०७२ सालका अविस्मरणीय ६ घटना

२०७२ का सुपरहिट ९ फिल्म

२०७२ मा सर्वोच्च पदमा पुग्न सफल ४ महिला

२०७२ का प्रमुख ८ घटना

 

Loading...

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Loading...