स्मार्टफोन, हरेक युवाको गोजीको आवश्यकता बनिसकेको यो मोबाइल फोनको पछिल्लो पुस्ता हो। यसमा दूरसञ्चार साथै कम्प्युटरको सुविधा पनि उपलब्ध हुन थालेपछि यो आम आवश्यकताको साधन बनेको छ। जसबाट फोन, इमेल गर्न सकियोस् अनि क्यामेरा र गीतसंगीतको आनन्द लिन सकियोस्। गुगलको मोबाइल अपरेटिङ सिस्टम एण्ड्रोइडको विकास पछि त चिन र भारत जस्ता ठूला र सस्ता बजारका लागि बन्न थालेका फोनहरुले नेपालीलाई पनि सस्तो मूल्यमा नै स्मार्टफोन गोजीमा राख्न सक्ने बनाएको छ।
असोज र कात्तिकलाई नेपालको प्रमुख खरिदको महिना भनिन्छ। त्यसले गर्दा यो समयमा हरेक साता नयाँ नयाँ स्मार्टफोन सार्वजनिक भइरहेका छन्। मूल्यमा सस्तो सुविधा पनि प्रसस्तै दाबी गरिएका स्मार्टफोनहरुको उपलब्धता भएको छ यतिखेर बजारमा। तपाइँ पनि दशैंको मौकामा छुट पाउने आशामा सस्तो मूल्यका स्मार्टफोन किन्ने विचार गर्नुभएको छ भने यस्ता कुरामा ध्यान दिनुस् ताकी सस्तो फोन लिने चक्करमा हैरानीका साथ पैसा गुमाउनु नपरोस्।
ब्याट्री ब्याकअप
स्मार्टफोन किन्ने समयमा सबैभन्दा चासो दिएर सोध्नुपर्ने र बुझ्नुपर्ने भनेको ब्याट्रीको ब्याकअप हो। फोन चल्ने नै ब्याट्रीको ब्याकअपमा भएकाले आफूले किन्न लागेको फोन एक पटक चार्ज गरेपछि कति समयसम्म चल्छ त्यसमा ध्यान दिनुस्। सस्तो मूल्यमा पनि लामै समय सम्म ब्याट्री ब्याकअप दिने फोन किन्न सकिन्छ। सस्तो फोन लिने चक्करमा ब्याट्रीमा सम्झौता नगर्नुस। सस्ता मोबाइलमा ब्याट्रीको क्षमता र टक टाइम पनि कम हुन्छ, कम्तिमा स्मार्टफोनमा १४०० एमएएचको ब्याट्री हुनु राम्रो हो।
स्मार्टफोन एण्ड्रोइड र स्क्रिनले मात्र राम्रो हुँदैन। यसको महत्वपूर्ण कुरा भनेको यसमा रहेको रयाम र प्रोसेसरको क्षमता हो। यतिखेर बजारमा १२८ एमबी देखी १ जीबी सम्म रयाम भएका सस्तो मूल्यका स्मार्टफोन बजारमा उपलब्ध छन्। तपाइँले किन्ने फोनको रयाम ५१२ भन्दा कम हुनुहुँदैन। त्यसो त प्रोसेसरको क्षमता पनि ६०० मेगाहर्ज भन्दा कम हुनै हुँदैन।
अपरेटिङ सिस्टम
स्मार्टफोनलाई स्मार्ट बनाउने भनेको नै अपरेटिङ सिस्टमले हो। त्यसैले फोन किन्नु भन्दा अगाडि यो कुन अपरेटिङ सिस्टम रहेको फोन हो भन्ने जान्नुपर्छ। पछिल्लो समयमा सस्तो र एण्ड्रोइडको नाममा पुरानो संस्करणका अपरेटिङ सिस्टम भएका फोनहरु बजारमा आइरहेका छन्। जसका कारण कतिपय नयाँ एप र सुविधा जुन तपाइँ आफ्नो मोबाइलमा चाहनुहुन्छ त्यो उपलब्ध नहुन सक्छ।जसले तपाइँको फोन हुनुपर्ने भन्दा कम स्मार्ट हुन पुग्छ। त्यसैले एण्ड्रोइड मात्र नहेरेर त्यसको संस्करण पनि हेर्नु बुद्धिमानी हुन्छ। याद गर्नुस् तपाइँले किन्ने फोनको अपरेटिङ सिस्टम जेलीबीन भएको खण्डमा राम्रो हुन्छ।
स्मार्टफोन किन्दा ध्यान दिनुपर्ने अर्को महत्वपूर्ण कुरा हो एप्स। हुन त एप्सहरु पछि डाउनलोड गर्न पनि सकिन्छ तर केही रकम तिरेर किन्नुपर्छ। नेपालका अधिकांश प्रयोगकर्ताले अनलाइनमा डलर कारोबार गर्न नसक्ने भएकाले निशुल्क डाउनलोडका लागि उपलब्धमा मात्र भर पर्नुपर्ने हुन्छ। ‘बोल्टवेयर’ भनिने फोनमा पहिले नै इन्स्टल भएर आएका एपहरु के के छन् त्यो जान्नु किन्नु भन्दा अगाडि आवश्यक हुन्छ। याद राख्नुस् तपाइँले एप किन्नुपरयो भने निक्कै हैरानको काम हुन्छ।
कनेक्टिभिटी
स्मार्टफोन किन्दा यसमा रहेका कनेक्टिभिटी क्षमता र सुविधाका ’boutमा जान्नु अर्को महत्वपूर्ण कुरा हो। स्मार्टफोन, एण्ड्रोइड अपरेटिङ सिस्टम भएका भन्दैमा फोनको कनेक्टिभिटी एकै खालको हुन्छ भन्ने हुँदैन। थ्रिजी तथा वाइफाइ नभएका पनि स्मार्टफोन बजारमा उपलब्ध छन् सस्तो मूल्यमा। त्यसैले किन्नु अगाडि नै यो कुरामा याद राख्नु नि फोनमा थ्रीजी, वाइफाइ तथा ब्लूटूथ सुविधा छ कि छैन।
सहज पार्टस् तथा निर्माण सुविधा
सस्तो मूल्यमा किनेको स्मार्टफोन किनेको केही महिनामा नै बिग्रियो र त्यसको सजिलै मर्मत गर्न सकिएन भने फेरी अर्को फोन किन्नुपर्ने हुन्छ। यस्तो अवस्थामा हुने दोहोरो खर्चले चौटा खान गएकी बुढी झोलमा डुबेर मरी बनाउँछ। त्यसैले फोन किन्नु भन्दा पहिले एकपटक उक्त ब्राण्डको फोनको सर्भिस सेन्टर घुमेर आउनु बुद्धिमानि ठहर्छ। र्सर्भिस सेन्टरमा आएका मानिसहरुले मर्मतमा पाएको हैरानी या सुविधाको कुरा सुनेर स्मार्टफोनको खरिद गर्नुभयो भने तपाइँको छनौट सही हुन्छ। उदाहरणका लागि कार्बन मोबाइललाई नै लिन सकिन्छ। सस्तो भनेर कार्बनको स्मार्टफोन किन्नेहरुले स्क्रिन बिग्रँदा पाएको हैरानी धेरै छन्। कार्बनले मोबाइलका स्क्रिन सहज रुपमा उपलब्ध नगराउँदा धेरै कार्बन मोबाइल लिएकाहरुले हैरानी पाएका मात्र छैनन् अर्को फोन किन्नु पनि परेको छ। त्यसैले काठमाडौंमा फोन किन्न लाग्नुभएको छ भने ताम्राकार कम्प्लेक्स न्यूरोडमा रहेका विभिन्न मोबाइलका सर्भिस सेन्टरमा एकपटक फोन किन्नु अघि अवश्य पुग्नुहोस्।